लोक आवाज
जनकपुरधाम, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क संकलनमा अनियमितता गरेको अभियोगमा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार अस्पतालमा ओपीडीसहित विभिन्न बिलिङ काउन्टरबाट संकलन भएको राजस्व रकम सरकारी खातामा दाखिला नगरी मिलेमतोमा दुरुपयोग गरिएको उजुरीमाथि अनुसन्धान गर्दा गम्भीर अनियमितता पुष्टि भएको हो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठवटा बिलिङ काउन्टरबाट कुल ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा राजस्व खातामा जम्मा हुनुपर्ने देखिए पनि अभिलेखअनुसार ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको अख्तियारले जनाएको छ। बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हालसम्म दाखिला नगरी हिनामिना गरिएको आरोप छ।
बिलिङ काउन्टरमा कार्यरत कर्मचारीहरूले आ–आफ्नो जिम्मामा संकलित रकम पूरा रूपमा राजस्व खातामा नबुझाएको पाइएको अख्तियारको ठहर छ। यस क्रममा अहेब श्याम कुमार मण्डल, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल, पूजा कुमारी यादव र रोशन कुमार यादवले लाखौँ रुपैयाँ बराबरको रकम दाखिला नगरेको देखिएको छ।
त्यसैगरी, तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव, डा. सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह तथा तत्कालीन लेखा प्रमुख अशोक कुमार यादवले बिलिङ सफ्टवेयरमार्फत संकलन तथा दाखिला रकमको निगरानी गर्ने अधिकार हुँदाहुँदै पनि लापरवाही र बदनियतपूर्वक अनियमितता हुन दिएको अख्तियारको निष्कर्ष छ।
यस प्रकरणमा तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेकाले उनीविरुद्ध फौजदारी सजाय माग नगरिए पनि भ्रष्टाचारबाट भएको बिगो रकम उनकी श्रीमती मुस्कान कुमारी मण्डलबाट असुल उपर गर्न मागदाबी लिइएको आयोगले जनाएको छ।
अख्तियारले सबै प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुल उपरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।




प्रतिक्रिया !