लोक आवाज
काठमाडौँ ,१८ माघ – दिवंगत पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बोर्ड परिसरमा ल्याइएको हो।
श्रद्धाञ्जलि कार्यक्रमपछि सिटौलाको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जनाएको छ। विभिन्न सञ्चारमाध्यम, पत्रकार संघ–संस्था तथा शुभेच्छुकहरूले दिवंगत पत्रकार सिटौलाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ।
पत्रकार सिटौला गत शुक्रबार अछाममा अचानक बेहोस हुनुभएको थियो। गाडीबाट ओर्लिने क्रममा उहाँ बेहोस भएपछि तत्काल उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। काठमाडौँ ल्याएपछि उहाँलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
ग्राण्डी अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार सिटौलाको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको जानकारी दिएको थियो। अस्पतालका अनुसार उपचारका क्रममा उहाँलाई बचाउन सकिएन।
पत्रकार सिटौलाको निधनले नेपाली पत्रकारिता क्षेत्र शोकमा डुबेको छ। उहाँप्रति विभिन्न राजनीतिक दल, सञ्चारकर्मी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले शोक सन्देश व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।




प्रतिक्रिया !