सुनिल साह ,
जनकपुरधाम, माघ १८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ अन्तर्गत पिरारीको पछबारी टोलमा वडा भेला सम्पन्न भएको छ। वडा अध्यक्ष अजिज राईनको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका उपमहासचिव तथा धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमरेड रघुबीर महासेठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
वडा भेलामा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलामा आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचन केन्द्रित रणनीतिबारे छलफल गरिएको थियो।
प्रमुख अतिथि महासेठले सम्बोधन गर्दै एमालेले देश विकास, सुशासन र समृद्धिका लागि खेलेको भूमिकाको चर्चा गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुसार काम गर्ने पार्टी एमाले मात्र भएको दाबी गर्दै विगतमा आफूले क्षेत्रको विकासका लागि गरेका कामहरूको विवरण प्रस्तुत गर्नुभयो। सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा आफूले गरेको पहलका कारण क्षेत्रले नयाँ गति लिएको उहाँको भनाइ थियो।
महासेठको स्पष्ट धारणा, विकासप्रति प्रतिबद्धता र कार्यशैलीको भेलामा सहभागी कार्यकर्ताले खुलेर प्रशंसा गरेका थिए। कार्यकर्ताहरूले आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउँदै जनताको पक्षमा काम गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
वडा अध्यक्ष अजिज राईनले पार्टीको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै वडा तहबाट संगठनलाई थप सक्रिय बनाउने बताउनुभयो। भेला उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो ।



प्रतिक्रिया !