मधेश प्रदेशमा ६ महिनामा २,५७२ जना सम्पर्कविहीन, आन्दोलनबाट अर्बौँ क्षति

मधेश प्रदेशमा ६ महिनामा २,५७२ जना सम्पर्कविहीन, आन्दोलनबाट अर्बौँ क्षति

लोक आवाज ,
जनकपुरधाम, १६ माघ — मधेश प्रदेशमा पछिल्लो ६ महिनामा बेपत्ता तथा सम्पर्कविहीन हुने व्यक्तिको संख्या चिन्ताजनक रूपमा बढेको देखिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा २ हजार ५७२ जना सम्पर्कविहीन भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। ६ महिनाको अवधिमा सम्पर्कविहीनमध्ये १ हजार ५०१ जना फेला परे पनि बाँकी व्यक्तिहरू अझै बेपत्ता रहेका छन्।

यसैबीच, जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशमा भएको क्षतिको विवरण पनि सार्वजनिक गरिएको छ। प्रहरीका अनुसार आन्दोलनका क्रममा चारजनाको मृत्यु भएको थियो भने २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

सरकारी कार्यालयमा भएको क्षतिको मूल्य करिब ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ आँकलन गरिएको छ। साथै, प्रहरीका सवारी साधनमा समेत क्षति पुग्दा करिब २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।

आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ५७९ जनालाई पक्राउ गरिएको छ भने बाँकी अझै फरार छन्।

त्यस्तै, बाल सुधार गृहबाट फरार ६८ जनामध्ये २० जनालाई नियन्त्रणमा लिइसकिएको र ४८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

बढ्दो बेपत्ता घटना र आन्दोलनजन्य क्षतिले प्रदेशको सुरक्षा व्यवस्थामा चुनौती थपिएको देखिएको छ। प्रहरी प्रशासनले फरार व्यक्तिको खोजी र सुरक्षा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार