लोक आवाज
मुस्ताङ,१६ माघ ।भारी हिमपातपछि वारागुङ मुक्तिक्षेत्र–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्र सुनसान बनेको छ। हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडकखण्ड अवरुद्ध हुँदा दर्शनार्थीको आवागमन प्रभावित भएको हो।
भारी हिमपातसँगै कागबेनी–मुक्तिनाथ कालोपत्र सडकमा बाक्लो हिउँ जम्दा जोमसोमबाट मुक्तिनाथतर्फ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानदेखि उक्लिन सकेका छैनन्। सशस्त्र प्रहरी टोलीले बुधबार बिहान हिउँ पन्छ्याएर सडक खुलाउने प्रयास गरे पनि थप हिमपातको सम्भावनालाई ध्यानमा राख्दै काम स्थगित गरिएको थियो।
वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार कागबेनीको पहिलो मोडदेखि सेल्फी पार्क, कालोभीर, खिङ्गा र झारकोटलगायत क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक बन्द भएपछि केही दर्शनार्थी कागबेनीबाट घोडा चढेर मुक्तिनाथ पुग्ने प्रयास गरिरहेका छन्।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले हिमपातपछि मन्दिरमा दर्शनार्थीको आगमन उल्लेख्य रूपमा घटेको बताए। उनका अनुसार हिमपातअघि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकामा बुधबारदेखि संख्या अत्यन्त न्यून रहेको छ। सडक सञ्चालनमा नआएसम्म मन्दिरका गतिविधि नियमित पूजापाठमै सीमित रहने उनले जानकारी दिए।
मंगलबार रातिदेखिको हिमपातले मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ। झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ र छेङ्गुरलगायत गाउँ सेताम्मे भएका छन्। मन्दिर परिसर, १०८ धारा र स्नानकुण्डमा हिउँ जम्दा दर्शन र स्नानमा समेत कठिनाइ भएको छ।
अत्यधिक चिसो बढेसँगै दर्शनार्थीलाई लेक लाग्ने जोखिमसमेत रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बुधबारदेखि कागबेनी–कोरला तथा मुक्तिनाथ सडकखण्ड अवरुद्ध छन्। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार छुसाङदेखि कोरला सडकसम्म करिब दुई फिट हिउँ जमेको छ।
मौसम सुधार भएमा हिउँ पग्लिएसँगै सडक सञ्चालनमा आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ। हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवनसमेत प्रभावित बनेको छ।




प्रतिक्रिया !