लोक आवाज ,
जनकपुरधाम, १४ माघ । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै धनुषा जिल्लाका विभिन्न मतदान केन्द्रमा उच्चस्तरीय टोलीले स्थलगत अनुगमन गरेको छ।
परराष्ट्र मन्त्री वालानन्द शर्मा, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकीरा महतो, प्रमुख सचिव कमल भट्टराईसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको टोलीले मतदान स्थलको निरीक्षण गरेको हो।
अनुगमन टोलीमा नेपाली सेनाका पृतनापति कृष्णबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, प्रदेश प्रहरी प्रमुखलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
टोलीले मतदान केन्द्रको भौतिक संरचना, मतदाताको पहुँच, सुरक्षा व्यवस्थापन, शान्ति–सुरक्षाको अवस्था तथा निर्वाचन सञ्चालनका पूर्वतयारीबारे स्थलगत अवलोकन गरेको थियो। साथै, सम्भावित जोखिम न्यूनीकरण र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न आवश्यक तयारीबारे जानकारी लिइएको थियो।
अनुगमनपछि सम्बन्धित निकायबीच निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनका विषयमा समीक्षा बैठकसमेत सम्पन्न भएको छ। बैठकमा संवेदनशील क्षेत्रको पहिचान, सुरक्षाकर्मी परिचालन, निगरानी प्रणाली तथा मतदाता सुरक्षाबारे विस्तृत छलफल गरिएको बताइएको छ।
सरकारी अधिकारीहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। साथै, मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ।



प्रतिक्रिया !