राष्ट्रिय झण्डाको मर्यादित प्रयोग गर्न गृह मन्त्रालयको आग्रह

राष्ट्रिय झण्डाको मर्यादित प्रयोग गर्न गृह मन्त्रालयको आग्रह

लोक आवाज ,

काठमाडौँ,१२ माघ – गृह मन्त्रालयले नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित, सम्मानजनक र कानुनसम्मत प्रयोग गर्न सबै नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई आग्रह गरेको छ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ विपरीत झण्डाको प्रयोग नगर्न सचेत गराउँदै, झण्डाको अपमान हुने कुनै पनि कार्य गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार राष्ट्रिय झण्डालाई उल्ट्याउने, जलाउने, च्यात्ने, वा कुनै सामान पोको पार्न प्रयोग गर्न निषेध गरिएको छ। त्यस्तै, व्यापारिक विज्ञापन वा प्रचार–प्रसारका उद्देश्यले झण्डाको दुरुपयोग गर्न नपाइने व्यवस्था रहेको छ।

मन्त्रालयले व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको चित्र वा प्रतीक प्रयोग गर्दा कम्मरभन्दा माथिको भागमा मात्र प्रयोग गर्न, चन्द्रमा सधैं माथि नै रहने गरी (चन्द्र–सूर्य उल्टो नहुने गरी) प्रयोग गर्न निर्देशन दिएको छ। छातीभन्दा तलको भागमा वा भित्री लुगामा झण्डाको चित्र वा प्रतीक राख्नु कानुन विपरीत मानिने उल्लेख गरिएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै मन्त्रालयले ‘निर्वाचन आचारसंहिता, २०८२’ लाई कडाइका साथ पालना गर्नसमेत आग्रह गरेको छ। आचारसंहिताअनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा वा घरदैलो भेटघाटका क्रममा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउनेछन्।

सोभन्दा बढी झण्डा प्रयोग गरेको पाइएमा वा चुनावी प्रचारका अन्य माध्यममा झण्डाको दुरुपयोग भएमा कानुनी कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ लाई स्मरण गराउँदै मन्त्रालयले राष्ट्रिय झण्डाको अपमान गर्ने वा सार्वजनिक नैतिकता र शिष्टाचारको दृष्टिले अयोग्य स्थानमा प्रयोग गर्नेलाई सजायको व्यवस्था रहेको जानकारी गराएको छ।

राष्ट्रको स्वाभिमान र गरिमा कायम राख्दै प्रचलित कानुनको परिधिभित्र रही राष्ट्रिय झण्डाको प्रयोग गर्न गृह मन्त्रालयले सबैमा हार्दिक अनुरोध गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार