लोक आवाज,
एजेन्सी, माघ १० । दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारीसाधन बग्दा ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक त्शाङ्गामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगेको हो।
नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न सकेनन्। दुर्घटनामा ७ जना वयस्क र २ जना बालबालिका समेटेर ९ जनाको घटनास्थलमै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि खोज तथा उद्धार कार्य सुरु गरिएको थियो, जसमा स्थानीय बासिन्दाले सक्रिय सहयोग पुर्याएका थिए। लामो प्रयासपछि शुक्रबार सबै शव फेला पारिएको र हाल मृतकहरूको पहिचान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढ्दा सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई चेतावनी दिएको छ। पछिल्ला महिनाहरूमा निरन्तर परेको मुसलधारे वर्षाले जिम्बाब्वेका धेरै क्षेत्रलाई प्रभावित बनाएको छ। बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने देशभर सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। सरकारले प्रभावित क्षेत्रमा निगरानी बढाएको र जोखिम न्यूनीकरणका लागि आपतकालीन तयारी तीव्र बनाएको छ।



प्रतिक्रिया !