लोक आवाज,
काठमाडौँ, माघ १० । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले योजनाबद्ध रूपमा आफूलाई दुःख र अपमान सहन बाध्य बनाइरहेको आरोप लगाएका छन्।
शुक्रबार गृहजिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा विमानस्थलमा आफूलाई सामान्य यात्रु होइन, सुन तस्करजस्तै व्यवहार गरिएको भन्दै ओलीले आपत्ति जनाए। शनिबार ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त व्यवहार ‘माथिबाट आदेश आएको’ भन्दै गरिएको दाबी गरे।
विमानस्थलमा भएको चेकजाँच र व्यवहारले आफू सभ्य समाजमा नभएजस्तो अनुभूति भएको ओलीको भनाइ थियो। झापा जाँदा भने विमानस्थलमा राम्रो व्यवहार गरिएको तर फर्किँदा अनावश्यक रूपमा दुःख दिइएको उनले बताए। ‘हिजो फर्किँदा मलाई के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरियो,’ ओलीले भने, ‘किन यस्तो गरियो भनेर सोध्दा माथिबाट आदेश आएको छ भन्ने जवाफ पाइयो। यस्तो अवस्था देख्दा सरकार के गर्दैछ भन्ने प्रश्न उठ्छ।’
ओलीले विदेश यात्रा गर्दा समेत चिनिएका स्थानमा यस्ता व्यवहार नहुने तर आफ्नै देशको विमानस्थलमा अपमानित हुनुपरेको भन्दै असन्तोष व्यक्त गरे। उनले देशमा बेथिति र अन्याय बढ्दै गएको आरोप लगाउँदै परिस्थितिलाई सुधार्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको दाबी गरे। ‘देशलाई फेरि सही दिशामा लैजान एमालेले सरकार बनाउनुको विकल्प छैन,’ ओलीले जोड दिए।




प्रतिक्रिया !