पूजा महतोको ब्याटिङ शो, नेपाललाई ऐतिहासिक जित

पूजा महतोको ब्याटिङ शो, नेपाललाई ऐतिहासिक जित

लोक आवाज,
काठमाडौँ, माघ १० । पूजा महतोको अविजित अर्धशतकको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन जोडिन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रन बनाइन्। नेपालको बलिङतर्फ रिया शर्माले २ विकेट लिँदा कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे। १३० रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै महत्वपूर्ण जित निकाल्यो। पूजा महतोले ५० बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ५२ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यस जितसँगै नेपालले अंकतालिकामा आशा कायम राखेको छ। अब नेपालले अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ विजयी हुनुपर्ने दबाबमा टोली रहनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार