लोक आवाज,
सर्लाही, माघ १०
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले राजनीतिक यात्रामा सधैँ सहज विकल्पभन्दा चुनौतीपूर्ण बाटोलाई प्राथमिकता दिँदै आएको बताएका छन्। शनिबार बानेश्वरमा आयोजित सर्लाहीका मतदाताहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यसपटक काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव लड्नु आफ्नो लागि सहज रहे पनि जानाजानी सर्लाही रोजेको स्पष्ट पारे। पार्टीले उम्मेदवार तय नगरेको अवस्थामा पनि काठमाडौं वा सर्लाहीमध्ये रोज्न सक्ने अवस्था रहेकाले आफूले कठिन बाटो छानेको उनको भनाइ थियो। ‘यसपटकको निर्वाचन मेरो लागि काठमाडौंमा निकै सजिलो थियो। तर सजिलो हुँदाहुँदै पनि मैले अफ्ठ्यारो रोजेँ,’ थापाले भने, ‘म अठोट गरेर काठमाडौं बाहिर जानुपर्छ भन्ने निष्कर्षमा पुगेँ।’ अघिल्लो निर्वाचनमा सिफारिस हुँदाहुँदै पनि बाहिर जान आँट नगरेको स्वीकार गर्दै उनले यसपटक भने जोखिम मोलेरै अघि बढ्ने निर्णय गरेको बताए। मधेसमा आफूलाई समर्पित गरेर मात्रै राष्ट्रिय स्तरको नेता बन्न सकिने उनको धारणा थियो।
‘जोखिम लिएर भए पनि मैले आफूलाई मधेसमा समर्पित गरेको छु। मधेसको नेतृत्व गर्ने प्रयास नगरी राष्ट्रिय नेता बन्न सकिँदैन,’ थापाले भने, ‘त्यसका लागि त्यहाँका साथीहरूसँगै हिँड्नुपर्छ, भाषा सिक्नुपर्छ, संस्कृतिलाई बुझ्नुपर्छ।’ सभापति थापाले चुनावी मैदानमा मात्र होइन, पार्टीभित्र पनि आफूले सधैँ कठिन बाटो रोज्दै आएको बताए। पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेको प्रसंग स्मरण गर्दै उनले विशेष महाधिवेशनमा साथ नपाएको भए आफू आज निष्कासित सदस्यका रूपमा हुने अवस्था आउन सक्ने उल्लेख गरे।
‘म आफ्नो लडाईं आफैँ लड्नुपर्छ भन्ने विश्वास गर्ने मान्छे हुँ। कर्म गर्छु, बाँकी नियतिमा छोड्छु,’ उनले भने, ‘त्यसैले म सजिलो बाटोमा बसेको छैन, सधैँ चुनौती स्वीकार्दै आएको छु।’ तीन पटकसम्म काठमाडौं क्षेत्र नं। ४ बाट निर्वाचित हुँदा कांग्रेसका मात्र होइन, अन्य दलका मतदाताहरूको समेत समर्थन पाएको उल्लेख गर्दै थापाले आफू सबै मतदाताप्रति ऋणी रहेको बताए।



प्रतिक्रिया !