पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको प्रदेशसभा सदस्य पदबाट राजीनामा, जनमत पार्टी परित्याग

पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको प्रदेशसभा सदस्य पदबाट राजीनामा, जनमत पार्टी परित्याग

सुनिल साह ,

जनकपुरधाम, ५ माघ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। साथै उनले जनमत पार्टीको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन्।

आफूले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिँदै सिंहले भने, “आज औपचारिक रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ। साथै, जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएको छु।”

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिंहले छुट्टै राजनीतिक दल दर्ता गरिसकेको जनाएका छन्। उनका अनुसार दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गरिएको छ र सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी रहेको छ।

सिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट निर्वाचित भएका थिए। जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो।

तर, जेनजी आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेपछि त्यस विषयमा धारणा परिवर्तन गर्दा पार्टीभित्र विवाद चुलिएको थियो। त्यसपछि जनमत पार्टीले उनलाई दिएको समर्थन फिर्ता लिएसँगै सिंह पार्टीभित्र विवादित बनेका थिए।

राजनीतिक यात्रामा अनुभवी सिंह २०७४ देखि २०७९ सालसम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत रहिसकेका छन्। ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार