बारा–४ मा चुनावी तयारीमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, जेनजी लक्षित अभियान तीव्र

बारा–४ मा चुनावी तयारीमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, जेनजी लक्षित अभियान तीव्र

लोक आवाज ,

जनकपुरधाम, ०३ माघ । कुनै समय प्रहरी संगठनमा अब्बल प्रशासकको रूपमा ख्याति कमाएका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यतिबेला बारा–४ मा चुनावी माहौल बनाउन सक्रिय देखिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा–४ बाट आफ्नो उम्मेदवारी निश्चित भएको खनालले दाबी गरेका छन् । निर्वाचनलाई लक्षित गर्दै उनले सिमरालाई आफ्नो बसोबासको केन्द्र बनाउँदै घर भाडामा लिएर क्षेत्रमै सक्रियता बढाएका छन् ।

खनाल पछिल्लो तीन सातादेखि क्षेत्र नं. ४ का गाउँ–टोलमा पुगेर विशेषगरी जेनजी (नवयुवा पुस्ता) सँग भेटघाट र छलफल गर्दै आएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जका रमेश लामाका अनुसार खनालले जेनजीहरूसँग संवाद गर्दै आफ्नो पार्टीले उनीहरूको प्रतिनिधित्व र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि एमालेमा सक्रिय रहेका खनाल काठमाडौं–६ र तनहुँ–१ बाट चुनाव लडे पनि पराजित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा–४ बाट उम्मेदवारी दिने तयारी गरेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । पछिल्लो समय उनले आफ्नै अध्यक्षतामा ‘समुन्नत नेपाल पार्टी’ गठन गरेका छन् ।

गृह जिल्ला तनहुँ छोडेर बारा–४ बाट चुनाव लड्न आउनुको कारणबारे खनालले प्रहरी संगठनमा रहँदा बाराका जनताको धेरै सेवा गरेको उल्लेख गर्दै यहाँका जनताले आफूलाई माया गर्ने विश्वास व्यक्त गरे ।
‘प्रहरी संगठनमा लामो समय यहाँका जनताको सेवा गरेको छु । मैले गरेको कामको मूल्यांकन र सम्मान हुनेछ भन्ने अपेक्षा छ,’ उनले भने, ‘जनताका अमूल्य मत खेर नजाओस् भन्ने मेरो चाहना हो ।’

जेनजीको भावना नै आम नागरिकको भावना भएको भन्दै उनले युवाहरूसँगको भेटघाटलाई प्राथमिकतामा राखेको बताए ।

बारा–४ मा एक उपमहानगरपालिकासहित चारवटा पालिका पर्दछन् । यहाँ कुल १ लाख ७ हजार मतदाता रहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा–४ बाट गठबन्धन उम्मेदवार किसान श्रेष्ठले ३० हजार ३४१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका एकवाल मियाँले २० हजार ३३६ मत प्राप्त गरेका थिए ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अन्य दलबाट पनि दाबेदारको संख्या ठूलो भए तापनि हालसम्म अधिकांश दलले उम्मेदवारको अन्तिम टुंगो भने लगाइसकेका छैनन् ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार