लोक आवाज ,
जनकपुरधाम, ३ माघ । जिल्ला प्रहरी कार्यालय धनुषाले पुष महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा समुदाय केन्द्रित गतिविधिमा व्यापक कार्य सम्पादन गरेको जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको प्रगति विवरणअनुसार पुष महिनामा जिल्लाभर १४७ वटा आपराधिक मुद्दा दर्ता भएका छन् । तीमध्ये ५० वटा मुद्दा फर्छ्यौट भएका छन् भने ९७ वटा अझै बाँकी छन् । दर्ता मुद्दामध्ये जघन्य अपराध ५, गम्भीर अपराध २९, आर्थिक अपराध ४१, सामान्य प्रकृतिका ३५ तथा चोरी–डाँका सम्बन्धी ८ वटा रहेका छन् ।
यी मुद्दासँग सम्बन्धित ८२ जना प्रतिवादी पक्राउ परेका छन् भने ११८ जना अझै फरार छन् । फैसला कार्यान्वयनतर्फ ५० जनालाई पक्राउ गरी कुल २६ वर्ष १०१ महिना ३१४ दिन कैद ठेकिएको छ । साथै बिगो, क्षतिपूर्ति र जरिवाना बापत १३ लाख ३९ हजार ८९४ रुपैयाँ असुलउपर गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ३ वटा उजुरी ज्येष्ठ नागरिकसँग सम्बन्धित रहेका छन् । प्रहरीका अनुसार पीडित तथा पीडकको उमेर समूह मुख्यतः २० देखि ६० वर्षसम्म रहेको छ ।
पुष महिनामा २७ जना महिला र २९ जना बालबालिका हराएको उजुरी परेकामा ५ जना महिला, १ बालक र ५ बालिका फेला परेका छन् । घरेलु हिंसासम्बन्धी ४५ वटा उजुरी दर्ता भएका छन्, जसमा २३ वटा मिलापत्र वा अदालत पठाइएको छ । घरेलु हिंसा अझै चुनौतीकै रूपमा रहेको प्रहरीको भनाइ छ ।
लागूऔषध कारोबारसम्बन्धी ३ वटा मुद्दा दर्ता भई ३ जना पुरुष पक्राउ परेका छन् । उनीहरूबाट १ ग्राम १ मिलिग्राम खैरो हिरोइन, नाइट्रोजेपाम १७ पिस र स्पासो–प्रोक्सिन ५ पिस बरामद गरिएको छ ।
यस अवधिमा आत्महत्याका २२ वटा घटना दर्ता भएका छन् । तीमध्ये अधिकांश झुन्डिएर भएका छन् भने केही विषादी सेवनसम्बन्धी रहेका छन् । आत्महत्यामा १० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू बढी प्रभावित देखिएका छन् ।
शान्ति सुरक्षातर्फ ९ वटा LRP, १४४० वटा SRP, ३७ पिकेट, ४२ चेकिङ तथा ३५८ ग्रामीण गस्ती सञ्चालन गरिएको छ । पुष महिनामा २ वटा तालाबन्दी, २ वटा विरोध कार्यक्रम र ५ वटा विरोध र्याली भएका छन् । प्रहरी कारबाहीका क्रममा ९ जना घाइते भएका छन्, जसमा ३ जना प्रहरी कर्मचारी रहेका छन् । नियन्त्रणका क्रममा ९ राउण्ड अश्रुग्यास प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा पुष महिनामा ९१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १५४ जना घाइते भएका छन् । दुर्घटनाका मुख्य कारण तीव्र गति, चालकको लापरवाही र यात्रुको असावधानी रहेको प्रहरीले जनाएको छ । ट्राफिक चेकिङका क्रममा ७४१ वटा सवारी साधन कारबाही गरी ७ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
भन्सार छली नियन्त्रणतर्फ २ वटा सवारी साधन बरामद गरी ८ लाख १६ हजार ८२० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ । विपद् व्यवस्थापनतर्फ १५ वटा आगलागीका घटना भएका छन्, जसमा ९ जना महिला घाइते भएका छन् । उद्धार कार्यमा २ हजार ११० जना प्रहरी परिचालित भएका थिए ।
समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमअन्तर्गत ३ हजार ९०७ जनाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रममा १ हजार ३५ जना विद्यार्थी सहभागी भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनताको विश्वास अभिवृद्धि प्रहरीको प्रमुख प्राथमिकता रहेको बताए । उनले फरार अभियुक्त पक्राउ, घरेलु हिंसा र आत्महत्या न्यूनीकरणका लागि समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।



प्रतिक्रिया !