सुनिल साह ,
जनकपुरधाम , ०१ माघ । नेपाली कांग्रेसको विभाजन रोक्न तीन दिनदेखि जारी प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा बुधबार नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै कांग्रेस औपचारिक रूपमा विभाजित भएको हो ।
विशेष महाधिवेशनबाट पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्विरोध चयन भएका छन् । पौडेल १४ औँ महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्री पदमा पराजित भएका थिए भने घिमिरे विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाउने प्रमुख नेता हुन् । नेविसंघ अध्यक्ष रहँदा घिमिरे र महामन्त्री थापा एकै कार्यकालमा कार्यरत थिए ।
सहमहामन्त्री पदमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्यसमेत चयन गरेको छ ।
सभापतिमा निर्वाचित भएपछि गगन थापाले पार्टीमा शेरबहादुर देउवाको अध्याय समाप्त भएको उद्घोष गरे । उनले कांग्रेस अब गुटमुक्त भएको दाबी गर्दै भने, “कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर हुने नयाँ परम्पराको सुरुआत भएको छ ।”
दल सुधार्न र सही दिशामा उभ्याउन आफूहरूले वर्षौंदेखि आवाज उठाउँदै आएको उल्लेख गर्दै थापाले यसपटक त्यसैका लागि जोखिम मोलेको बताए ।




प्रतिक्रिया !