काजमा खटाइएका स्वास्थ्य कर्मचारी तत्काल फिर्ता गर्न मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन

काजमा खटाइएका स्वास्थ्य कर्मचारी तत्काल फिर्ता गर्न मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन

सुनिल साह ,

जनकपुरधाम, २९ पुष । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा खटाइएका कर्मचारीहरूलाई तत्काल फिर्ता गर्न निर्देशन जारी गरेको छ। मन्त्रालयले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा २६ बमोजिम काजमा खटाइएका कर्मचारीलाई २४ घण्टाभित्र फिर्ता नगरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखमा पर्ने स्पष्ट चेतावनी दिएको छ।

मन्त्रालयले सबै सरोकारवाला निकायलाई पठाएको पत्रमा फिर्ता हुन बाँकी रहेका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिदेखि नै काज फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ। प्रदेश सचिव डा. प्रमोद कुमार यादवले मुख्यमन्त्रीको निर्देशनअनुसार सबै कार्यालय प्रमुखलाई यसबारे औपचारिक रूपमा जानकारी गराएको मन्त्रालयले जनाएको छ।

जारी गरिएको निर्देशन प्रादेशिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालय, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य निर्देशनालय सपही तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा कार्यरत काजका कर्मचारीहरूमा लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार काज व्यवस्थापनका कारण कतिपय स्वास्थ्य संस्थामा जनशक्तिको अभाव देखिएकाले नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवामा अवरोध उत्पन्न हुने अवस्था आएको छ। त्यसलाई अन्त्य गर्दै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन काज फिर्ता गर्ने निर्णय लिइएको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कार्यालय प्रमुखलाई निर्देशनको पालना गर्न आग्रह गर्दै तोकिएको समयसीमाभित्र कर्मचारी फिर्ता नगरेमा कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार