जनकपुरधाममा नगर प्रहरीद्वारा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु

जनकपुरधाममा नगर प्रहरीद्वारा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु

सुनिल साह ,

जनकपुरधाम, २९ पुष । जनकपुरधाम उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गर्दै फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। धार्मिक तथा पर्यटकीय नगरीको पहिचान जोगाउँदै पैदल यात्रु, तीर्थालु र पर्यटकको आवतजावत सहज बनाउने उद्देश्यका साथ यो अभियान तीव्र पारिएको हो।

उपमहानगरपालिकाले यसअघि उद्योगी, व्यापारी तथा व्यवसायीलाई सूचना जारी गर्दै स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको थियो। तोकिएको समयावधि सकिएपछि नगर प्रहरीले विभिन्न स्थानमा फुटपाथमा राखिएका पसल, ठेला तथा अस्थायी संरचना हटाउन थालेको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार फुटपाथ पैदल यात्रुहरूको सुरक्षित हिँडडुलका लागि निर्माण गरिएको हो। तर, लामो समयदेखि भएको अतिक्रमणका कारण पैदल यात्रुहरू सडकमा हिँड्न बाध्य हुँदा दुर्घटनाको जोखिम बढेको थियो। यसका साथै अव्यवस्थित व्यापारका कारण नगरको सौन्दर्यीकरण र व्यवस्थापनमा समेत नकारात्मक प्रभाव परेको उपमहानगरपालिकाको ठहर छ।

अभियानका क्रममा नगर प्रहरीले फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय हटाउँदै व्यापारीहरूलाई आफ्नै निजी हाताभित्र रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, नगरको व्यवस्थापन र सर्वसाधारणको हितका लागि अभियानमा अवरोध नगरी सहयोग गर्न सबै व्यवसायी तथा नागरिकलाई आग्रह गरिएको छ।

उपमहानगरपालिकाले जनकपुरधामलाई अतिक्रमणमुक्त, व्यवस्थित र आकर्षक नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। ‘धार्मिक, सांस्कृतिक तथा पर्यटकीय समृद्ध नगर जनकपुरधाम’ निर्माण गर्ने दीर्घकालीन योजनाअनुसार यस्ता अभियान निरन्तर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार