भ्रष्टाचार मुद्दामा निलम्बित सांसद सरोजकुमार सिंहविरुद्ध विशेष अदालतमा साक्षी परीक्षण सुरु हुने

भ्रष्टाचार मुद्दामा निलम्बित सांसद सरोजकुमार सिंहविरुद्ध विशेष अदालतमा साक्षी परीक्षण सुरु हुने

सुनिल साह ,

जनकपुरधाम, २९ पुष । मधेश प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोजकुमार सिंहविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी परीक्षण सुरु गर्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार मुद्दाको सुनुवाइ गर्दै साक्षी बुझ्ने प्रक्रिया अघि बढाउन आदेश दिएको हो। यससँगै लामो समयदेखि विचाराधीन रहेको उक्त मुद्दा अब प्रमाण संकलनको चरणमा प्रवेश गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार सिंहले उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको योजनाको रकम दुरुपयोग गरी ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ हिनामिना गरेका छन्। सोही रकम बराबरको बिगो असुल उपर गर्न मागदाबी गर्दै आयोगले अभियोगपत्र दायर गरेको हो।

आयोगको अभियोगअनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई आफ्नो तथा श्रीमतीको नाममा रहेको संयुक्त बैंक खातामा जम्मा गराएका थिए। त्यसरी रकम निजी प्रयोजनमा प्रयोग गरी सरकारी तथा सार्वजनिक स्रोतको दुरुपयोग गरिएको अख्तियारको दाबी छ।

यसै प्रकरणमा सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई पनि प्रतिवादी बनाइएको छ।

साक्षी परीक्षण सुरु हुने आदेशसँगै अब मुद्दाको निष्कर्षतर्फ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार