सुनिल साह ,
जनकपुरधाम , २९ पुष – मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरेका हुन्।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंह मधेस प्रदेशका चौथो मुख्य न्यायाधिवक्ता बनेका छन्। उनी कानुन तथा संवैधानिक मामिलामा दखल राख्ने अनुभवी कानुन व्यवसायीका रूपमा परिचित छन्। प्रदेश सरकारको तर्फबाट अदालतमा बहस गर्ने, कानुनी सल्लाह दिने र सरकारका निर्णय तथा नीति–कार्यक्रमलाई संवैधानिक ढंगले अघि बढाउन सहयोग गर्ने महत्वपूर्ण जिम्मेवारी अब डा. सिंहको काँधमा आएको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा नियुक्त भएका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोलाई वर्तमान मुख्यमन्त्री यादवले पदबाट बर्खास्त गरेका थिए। मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख कर्णले गत मंसिर २१ गते नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम महतोलाई पदमुक्त गरेका हुन्। त्यसयता मुख्य न्यायाधिवक्ताको पद रिक्त रहँदै आएको थियो।
रिक्त पदमा लामो समयपछि नयाँ नियुक्ति भएपछि मधेस प्रदेश सरकारको कानुनी संरचना पुनः सक्रिय हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारका निर्णयहरू कार्यान्वयनका क्रममा उत्पन्न हुने कानुनी जटिलता समाधान गर्न मुख्य न्यायाधिवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ।
डा. सिंहको नियुक्तिलाई प्रदेश सरकारको कानुनी पक्षलाई थप सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ। प्रदेशभित्र देखिएका संवैधानिक र कानुनी चुनौतीलाई सम्बोधन गर्दै सुशासन प्रवर्द्धनमा उनी प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।




प्रतिक्रिया !