लोक आवाज ,
काठमाडौँ, २९ पुष – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र केन्द्रदेखि जिल्ला र क्षेत्रसम्म बनेका संरचनागत तथा मानसिक ‘किल्ला’ तोडेर कांग्रेसलाई अझ फराकिलो, उज्यालो, व्यापक र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले ती किल्लाहरूका कारण कार्यकर्ता उकुसमुकुस भएको भन्दै अब त्यसलाई भत्काउनु आजको आवश्यकता भएको बताए। कठिन परिस्थितिलाई चिर्दै महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै उनले भने, “जिल्ला–जिल्लामा जमेर बसेका किल्ला तोडेर यहाँ आइपुग्नु सजिलो थिएन, तर फर्किंदा ती किल्ला तोडेर जानेछौँ।”
महामन्त्री थापाले पार्टीभित्र गुट र गिरोह हाबी हुँदै गएको उल्लेख गर्दै स्व. प्रदीप गिरिको भनाइ उद्धृत गरे। “कांग्रेसमा गुट बन्दै बनेन, गुट बन्दाबन्दै गिरोह बन्यो, र गिरोहले पार्टी कब्जा गर्यो,” उनले भने।
उनले अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिका र निर्णयको खुलेर प्रशंसा गर्दै व्यक्तिगत लाभ नहेरी पार्टी र समाजका लागि जोखिम मोलेर गरिएको निर्णयले सबैलाई बल दिएको बताए।
महाधिवेशनका क्रममा बाहिर फैलाइएका टिकट, भागबन्डा र पदकेन्द्रित हल्लाप्रति असन्तुष्टि जनाउँदै थापाले विशेष महाधिवेशनको गरिमा नघटाउन आग्रह गरे। “हजारौँ प्रतिनिधि जोखिम मोलेर यहाँ आएका छन्, यसलाई केवल टिकट वा भागबन्डाको चश्माबाट हेर्नु अभियानको अपमान हो,” उनले भने।
थापाले आफू र विश्वप्रकाश शर्मालाई सभापति बन्ने लालसा नरहेको स्पष्ट पार्दै पार्टीलाई सही दिशामा उभ्याउन नेतृत्व र नीतिमा परिवर्तन आवश्यक रहेको बताए। “हामी चुनाव लड्न पनि तयार छौँ, नलड्न पनि तयार छौँ, मुख्य कुरा पार्टीलाई ठीक ठाउँमा उभ्याउनु हो,” उनले स्पष्ट पारे।
निर्वाचन प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनको हलबाट हुने निर्णयलाई शिरोधार्य गर्नुपर्नेमा जोड दिए। साथै, यो नेतृत्व अस्थायी भएको र निर्वाचनपछि नियमित महाधिवेशन गराउनुपर्ने तथा त्यसअघि विधान संशोधन गरी पार्टीलाई समयानुकूल बनाउनु पर्ने धारणा राखे।




प्रतिक्रिया !