लोक आवाज ,
काठमाडौँ ,२७ पुष – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट राजीनामा दिन खुला रूपमा आग्रह गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदौ २५ गते नै सभापति देउवालाई आराम गर्न आग्रह गरिएको स्मरण गराए। पार्टीबाट बिदा भइसकेको अवस्थामा पनि केही नेताको कुरा सुनेर पुनः सक्रिय हुनु उपयुक्त नहुने उनको भनाइ थियो।
भृकुटीमण्डपमा चेतावनीयुक्त भाषामा थापाले भने, “तपाईंलाई घरमै गएर भेटेर पनि भनेका थियौँ– प्रजातन्त्रका लागि तपाईंको ठूलो योगदान छ। तर अब समय आएको छ। तपाईंले छाड्नुपर्छ, आराम गर्नुपर्छ र नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ।”
विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने अझै निश्चित नभएको उल्लेख गर्दै थापाले सभापति देउवालाई भोलि बिहान हुने बन्दसत्रमा उपस्थित हुन आग्रह गरे। उनले विशेष महाधिवेशन केन्द्रीय कमिटीको आयोजनामा नभई तल्लो तहबाट उठेको मागका आधारमा भएको स्पष्ट पारे।
नीति र नेतृत्व दुवै परिवर्तनको मागसहित विशेष महाधिवेशन बोलाइएको भन्दै थापाले भने, “म पनि बोलाएर मात्रै आएको हुँ। महाधिवेशनको हलले जे निर्णय गर्छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ।”
घुमाउरो शैलीमा उनले बहुमत प्रतिनिधि आफ्नो पक्षमा रहेको संकेत गर्दै सभापति देउवाले राजीनामा नदिए वा विशेष महाधिवेशनको निर्णय स्वीकार नगरे नेतृत्वबाट हट्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया !