प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिने घोषणा

प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिने घोषणा

लोक आवाज ,
काठमाडौँ , २६ पुष – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्व निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार रुकुमपश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट चुनाव लड्ने निर्णय सार्वजनिक गरेका हुन्।

प्रचण्ड २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए। आगामी निर्वाचनमा भने रुकुमपूर्वलाई आफ्नो राजनीतिक आधार बनाउँदै उम्मेदवारी दिने उनले बताए।

सभालाई सम्बोधन गर्दै उनले रुकुमपश्चिमबाट नेकपाका उम्मेदवार गोपाल शर्मालाई जिताउन आग्रहसमेत गरे। रुकुमपश्चिम पूर्वमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र हो। शर्माले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलहरूबीच भएको एकतामा सहभागी नहुँदै हालै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन्।

प्रचण्डको घोषणालाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार