सुनिल साह ,
जनकपुरधाम, २४ पुष । नेकपा एमालेले निर्वाचनका लागि अझै भरपर्दो वातावरण नबनेको दाबी गर्दै पार्टी पंक्तिलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तर–पार्टी निर्देशन (अपानी) जारी गर्दै वर्तमान राजनीतिक संकटको सुरक्षित निकास प्रतिनिधिसभा पुनःस्थापना भए पनि चुनाव भए त्यसका लागि पूर्ण तयारीमा रहनुपर्ने बताएका छन्। ओलीले आफ्नो पक्षमा चुनावी परिणाम नआउने देखेपछि निर्वाचन बिथोल्ने षड्यन्त्र भइरहेको दाबीसमेत गरेका छन्।
अपानीमा ओलीले चुनाव वा संसद पुनःस्थापनाका लागि आन्दोलन, दुवै अवस्थाका लागि पार्टी पंक्ति तयार रहन आह्वान गरेका छन्। उनले भनेका छन्, “निर्वाचनबाट आफूअनुकूल परिणाम आउने नदेखिएपछि निर्वाचन बिथोल्ने प्रयास हुन सक्छ। यस्तो अवस्थामा प्रतिगमनलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनःस्थापना सबैभन्दा उपयुक्त र सुरक्षित बाटो हो भन्ने मान्यतामा पार्टी दृढ छ। तर चुनाव भएमा त्यसबाट अलगिने कुरा उपयुक्त हुँदैन। आन्दोलन वा चुनाव जुन दिशातिर जानुपरे पनि पार्टी पंक्ति तयार रहनुपर्छ।”
एमालेले निर्वाचनमार्फत भदौ २३ र २४ गतेका घटनालाई वैधता दिने योजना कमजोर बन्दै गएको दाबी पनि गरेको छ।
त्यस्तै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जाललाई पार्टी कामको महत्वपूर्ण क्षेत्रका रूपमा उपयोग गर्दै पार्टी, नेतृत्व र सरकारले गरेका काम, पार्टी गतिविधि तथा आगामी नीति–कार्यक्रमको प्रभावकारी प्रचार–प्रसार गर्न आग्रह गरेका छन्।
आउँदो निर्वाचनलाई लक्षित गर्दै ओलीले पार्टीका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न, पार्टी नीति र चुनावी प्रतिबद्धता स्थापित गर्न संस्थागत योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।




प्रतिक्रिया !