लोक आवाज,
एजेन्सी ,२४ पुष । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा करिब १०० जनाको मृत्यु भएको छ। भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले बुधबार राति जानकारी दिँदै शनिबार भएको अमेरिकी आक्रमणका क्रममा राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्ने प्रयास भएको र त्यस क्रममा ठूलो मानवीय क्षति भएको बताएका छन्।
काराकासले यसअघि मृतकको संख्या औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। यद्यपि, भेनेजुएलाली सेनाले २३ जना मृतकको नामसूची सार्वजनिक गरेको छ। सरकारी अधिकारीहरूका अनुसार राष्ट्रपति मादुरोको सुरक्षा टोलीका धेरै सदस्यहरू “निर्दयी रूपमा” मारिएका छन्।
यसैबीच, क्यूबाले पनि भेनेजुएलामा तैनाथ आफ्ना केही सैनिक तथा गुप्तचर सदस्यहरू आक्रमणमा मारिएको जनाएको छ।
गृहमन्त्री काबेलोका अनुसार आक्रमणका क्रममा राष्ट्रपति मादुरोकी पत्नी सिसिलिया फ्लोरेसको टाउकोमा चोट लागेको छ भने राष्ट्रपति मादुरो स्वयंको खुट्टामा चोट लागेको छ। काबेलोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा मादुरोलाई “साहसी” भन्दै प्रशंसा गरेका छन्।
घटनापछि भेनेजुएलाली सरकारले मंगलबारदेखि एक हप्ते राष्ट्रिय शोक घोषणा गरेको छ।



प्रतिक्रिया !