लोक आवाज,
काठमाडौँ,२४ पुष । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि आवेदन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो।
सूचनाअनुसार निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ। दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग असम्बद्ध व्यक्ति निर्वाचन प्रहरीमा आवेदन दिन योग्य हुनेछन्।
नेपाल प्रहरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, साथै गत माघदेखि यही पुस मसान्तसम्म विभिन्न सुरक्षा निकायमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा प्राथमिकता दिइनेछ।
त्यसैगरी, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरी अवकाश पाएका नेपाली नागरिक पनि छनोटको प्राथमिकतामा रहने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।
कार्यतालिकाअनुसार माघ ५ गतेदेखि ९ गतेसम्म प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ। माघ १५ देखि २४ गतेसम्म चयन भएका निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिइनेछ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ। निर्वाचनको अवधि अनुसार कार्यअवधिमा हेरफेर हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।
सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ स्वीकृत गरिसकेको छ।
सुविधा र पारिश्रमिक
निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरुआती तलब स्केलअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि कुल ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्। साथै, सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाउने दररेटअनुसार खाद्यान्नबापतको रकम व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ।
त्यसैगरी निर्वाचनमा खटिनुअघि तयारी खर्चबापत प्रतिनिर्वाचन प्रहरी एक पटकका लागि ८४६ रुपैयाँ उपलब्ध गराइनेछ। खाजा खर्चबापत प्रतिदिन ३०० रुपैयाँका दरले चार दिनका लागि एकमुष्ट १ हजार २०० रुपैयाँ दिइनेछ। नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएअनुसार पोसाक खर्चसमेत प्रदान गरिनेछ।
कर्तव्य पालनका क्रममा निर्वाचन प्रहरी घाइते भएमा स्वयंले र मृत्यु भएको खण्डमा नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया !