लोक आवाज,
जनकपुरधाम, ९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुष १४ गते जनकपुरधाममा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। पार्टीको पूर्वनिर्धारित चरणबद्ध आन्दोलन अन्तर्गत २८ बुँदे मागसहित सुरु गरिएको आन्दोलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति गठन गरिएको छ।
पार्टीका केन्द्रीय महासचिव रामकुमार शर्माको अध्यक्षतामा मधेश प्रदेश पार्टी कार्यालय जनकपुरधाममा सम्पन्न बैठकले विरोध प्रदर्शनलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको हो। बैठकले प्रदर्शनको मुख्य स्थल तिरहुतिया गाछी तोकेको छ।
बैठकले प्रदर्शन व्यवस्थापनका लागि पाँचवटा प्रमुख समिति गठन गरेको छ। गठन गरिएका समितिहरुमा जनपरिचालन समिति, मंच व्यवस्थापन तथा प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, युवा परिचालन समिति र अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।
जनपरिचालन समितिको अध्यक्षमा केन्द्रीय उपमहासचिव दिपक कार्की चयन भएका छन्। समितिमा सप्तरीदेखि सर्लाहीसम्मका पाँच जिल्लाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु समावेश छन्।
मंच व्यवस्थापन तथा प्रचारप्रसार समितिको नेतृत्व जीतेन्द्र कुमार यादवले गर्नेछन्। समितिका सदस्यहरुमा ज्ञानेन्द्र कुमार यादव, पशुपति यादव, चमेली देवी दास, श्यामकुमार यादव, दिपेन्द्र कुमार कापडी र बलिराम कापडी रहेका छन्।
आर्थिक व्यवस्थापन समितिको अध्यक्षमा केन्द्रीय कोषाध्यक्ष सुरिता कुमारी साह नियुक्त भएकी छन्। समितिका सदस्यहरुमा डा. सुरेन्द्र यादव, प्रदेश कोषाध्यक्ष विष्णु कुमार साह, राजकुमार गुप्ता र डा. बबि सिंह रहेका छन्।
युवा परिचालन समितिको संयोजक विदेश्वर यादव (विक्की) रहेका छन्। यस समितिमा पाँचवटै जिल्लाका युवा तथा विद्यार्थी संगठनका अध्यक्षहरु सदस्यको रूपमा समावेश छन्।
त्यस्तै, अनुगमन तथा मूल्यांकन समितिको अध्यक्षमा हरिनारायण यादव चयन भएका छन्। समितिका सदस्यहरुमा लाल किशोर साह र नागेन्द्र यादव रहेका छन्। प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारीसमेत जीतेन्द्र यादवले सम्हाल्नेछन्।




प्रतिक्रिया !