लोक आवाज ,
काठमाडौँ ,०८ पुष – फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउने विषयमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच सहमति भएको छ।
मंगलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएको हो। छलफलपछि निर्वाचनको वातावरण बनाउने समझदारी कायम भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार चुनावी वातावरण निर्माणका लागि थप विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि भएको छ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको बताए। “निकासका लागि निर्वाचनको घोषणा गरिएको हो, त्यसैले यसको गम्भीरतालाई आत्मसात गर्दै सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,” राष्ट्रपति पौडेलले भने।
कांग्रेस र एमालेका सांसदहरूले संसद् पुनःस्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्थामा समेत शीर्ष नेताहरूले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका हुन्। संसद् पुनःस्थापनाको पक्षमा आवाज उठाउँदै आएका एमाले अध्यक्ष ओलीसमेत निर्वाचनका लागि तयार रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि कांग्रेस–एमाले नेतृत्वको सरकार विस्थापित भई संविधानबाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरिए पनि चुनावी वातावरण बन्न नसकेको अवस्थामा राष्ट्रपतिको अग्रसरतामा सरकार र प्रमुख दलहरूबीच छलफल भएको हो। प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग संवाद गर्न हिचकिचाइरहेका बेला राष्ट्रपति पौडेलको संयोजनमा भएको यो भेटवार्तालाई राजनीतिक रूपमा ‘आइसब्रेक’ का रूपमा लिइएको छ।




प्रतिक्रिया !