लोक आवाज ,
काठमाडौँ ,०८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच मध्यरातसम्म लामो भेटवार्ता भएको छ ।
कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल करिब पाँच घण्टा चलेको थियो। हिजो साँझ ८ बजे सुरु भएको वार्ता आज बिहान १ बजेसम्म निरन्तर रूपमा चलेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार भेटवार्तामा आगामी निर्वाचनमा सम्भावित चुनावी तालमेल, सहकार्य र राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको थियो। औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षले संवादलाई सकारात्मक रूपमा निरन्तरता दिने सहमति जनाएका छन्।
छलफलका क्रममा आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने उद्देश्यसहित सहकार्यको प्रस्ताव पनि आएको निकट स्रोतको दाबी छ।
वार्तामा रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट मेयर शाहसँगै वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए। करिब पाँच घण्टाको छलफलपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा सँगै बाहिरिएका थिए।




प्रतिक्रिया !