सभामुख रामअशिष यादवद्वारा पदभार ग्रहण, लोकतान्त्रिक र निष्पक्ष संसद् सञ्चालनको प्रतिबद्धता

सभामुख रामअशिष यादवद्वारा पदभार ग्रहण, लोकतान्त्रिक र निष्पक्ष संसद् सञ्चालनको प्रतिबद्धता

सुनिल साह ,

जनकपुरधाम, ७ पुष । मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले प्रदेश सभालाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेश सभाको साझा अभिभावकको भूमिकामा रहने स्पष्ट पार्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताए।

सभामुख यादवले संसदीय अभ्यासलाई सुदृढ बनाउने, विधायिकाको गरिमा उचाल्ने तथा विधि र प्रक्रियामा आधारित निर्णयलाई प्राथमिकता दिने प्रतिज्ञा गरे।

‘सभामुखको कुर्सी राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि हुन्छ,’ उनले भने, ‘संविधान, कानून र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई जनउत्तरदायी बनाउनु मेरो दायित्व हो।’

उनले सभामा अनुशासन, समयपालन र स्वस्थ बहस संस्कृतिलाई संस्थागत गर्न आफू दृढ रहेको उल्लेख गर्दै सांसदहरूलाई रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

‘विरोध लोकतन्त्रको आत्मा हो, तर विरोध मर्यादित र समाधानमुखी हुनुपर्छ,’ सभामुख यादवले जोड दिए।

उनका अनुसार विषयगत समितिहरूलाई थप सक्रिय बनाइनेछ भने विधेयकहरूमा गहिरो छलफल, आवश्यक संशोधन र सहमति निर्माणमा सभामुखको भूमिका प्रभावकारी बनाइनेछ।

सभामुख यादवले मधेशका समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रका चुनौतीजस्ता मुद्दाहरूलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने बताए।

साथै, उनले प्रदेश सभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तर सुधारमा संसद् अझ सशक्त हुनुपर्ने धारणा राखे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार