मधेश प्रदेशसभाका तेस्रो सभामुख रामअशिष यादवद्वारा मैथिली भाषामा शपथ ग्रहण

मधेश प्रदेशसभाका तेस्रो सभामुख रामअशिष यादवद्वारा मैथिली भाषामा शपथ ग्रहण

लोक आवाज ,

जनकपुरधाम, ६ पुष । मधेश प्रदेशसभाका तेस्रो सभामुखमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आइतबार साँझ आयोजित औपचारिक समारोहमा यादवलाई सभामुख पदको शपथ गराएका हुन् ।

सभामुख यादवले मधेशको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएका थिए । मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै स्वागत गरेका थिए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा उच्च सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसअघि प्रदेशसभाको बैठकबाट मत विभाजन प्रक्रियामार्फत निर्वाचित भएका यादव सातदलीय गठबन्धनको समर्थनमा सभामुख बनेका हुन् । उनी धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका यादव यसअघि जसपा नेपालको प्रमुख सचेतकका रूपमा प्रदेशसभामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । सामाजिक मुद्दा, शिक्षा र वातावरण संरक्षणका विषयमा निरन्तर आवाज उठाउँदै आएका उनले सभामुखको भूमिकामा निष्पक्ष, मर्यादित र प्रभावकारी संसदीय अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभामुखको रूपमा यादवले प्रदेशसभालाई थप प्रभावकारी बनाउने, विधेयकहरू समयमै छलफल र पारित गर्ने तथा मधेश प्रदेशको हितमा नीतिगत निर्णयहरू अघि बढाउने चुनौती सामना गर्नुपर्नेछ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार