मधेश प्रदेश सभाको सभामुखमा एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता

मधेश प्रदेश सभाको सभामुखमा एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता

लोक आवाज,

जनकपुरधाम, ५ पुष । मधेश प्रदेश सभाको सभामुख पदका लागि नेकपा एमालेबाट त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश सभा सचिवालयमा सोमबार दिउँसो करिब ३ बजे उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापा प्रस्तावक तथा जयचन्द्र प्रसाद पटेल समर्थक रहेका छन्।

एमालेले सभामुख पदमा आफ्नै उम्मेदवार अघि सार्दै संसदीय अभ्यासलाई सशक्त बनाउने रणनीतिअन्तर्गत त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको जनाएको छ। सभामुख उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।

पार्टी नेताहरूका अनुसार संसदीय प्रक्रिया, विधि र विधानको पालना गर्दै प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमता भएकाले प्रसादलाई उम्मेदवार बनाइएको हो।

एमालेका एक नेताले भने, “सभामुख पद प्रदेश सभाको गरिमा र अनुशासनसँग जोडिएको महत्वपूर्ण जिम्मेवारी हो। निष्पक्षता, अनुभव र संसदीय अभ्यासको ज्ञान भएका व्यक्तिलाई अघि सारिएको छ।”

निर्धारित कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएपछि सभामुख चयनका लागि मतदान प्रक्रिया अघि बढाइने प्रदेश सभा सचिवालयले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार