सुनिल साह ,
जनकपुरधाम, ०३ पुस । प्रतिष्ठित युवाहरूको सञ्जाल नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशन पाँचौँ पटक जनकपुरधाममा आयोजना हुन लागेको छ। पुस ४ गतेदेखि ७ गतेसम्म चार दिन चल्ने महाधिवेशनको आतिथ्य गर्ने जिम्मेवारी पाएको जनकपुर जेसीजका पदाधिकारी तथा सदस्यहरू यतिबेला उत्साहित र व्यस्त देखिएका छन्।
चार दिवसीय राष्ट्रिय महाधिवेशनमा देशभरका विभिन्न शाखाबाट करिब ४ हजार युवाहरू सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूको स्वागत, आवास तथा व्यवस्थापनका लागि जनकपुर जेसीजका युवाहरू कम्मर कसेर तयारीमा जुटेका छन्। आतिथ्यताको जिम्मेवारी पाएपछि जनकपुर जेसीज २०२५ का अध्यक्ष मुकेश कुमार साह सुरुदेखि नै उत्साहित रहेको जनाइएको छ।
केन्द्रीय पदाधिकारीसहित नेपाल जेसीजका विभिन्न शाखामा आबद्ध युवाहरू मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्ने क्रम तीव्र बनेको छ। ५२औँ महाधिवेशन आयोजक समितिका निर्देशक तथा जनकपुर जेसीजका पूर्व अध्यक्ष सुधिर पजियारले तयारी अन्तिम चरणमा पुगेको र पुस ४ गते भव्य उद्घाटन सत्रसहित सम्मेलन सुरु हुने जानकारी दिए।

२२ वर्षअघि सन् २००३ मा जनकपुरधाममा सम्पन्न ३०औँ महाधिवेशनका अध्यक्ष तथा सन् २०१८ मा भएको ४५औँ महाधिवेशनका निर्देशक रहिसकेका सन्तोष कुमार साहले यस्ता ठूला राष्ट्रिय आयोजनाले जनकपुरधामको पहिचान, प्रतिष्ठा र मौलिक विशेषता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

महाधिवेशनलाई लक्षित गर्दै नेपाल जेसीजको नयाँ नेतृत्वका आकांक्षी समूहहरूको जनकपुरधाम आगमन बढ्दो छ। नेतृत्व चयनसम्बन्धी छलफल र भेटघाटसमेत तीव्र बनेको छ।




प्रतिक्रिया !