लोक आवाज,
काठमाडौँ, ०१ पुष । मंगलबार दिउँसो ४ बजेदेखि सुरु हुने भनिएको नेकपा (एमाले) को निर्वाचन मतदान प्राविधिक कारणले ढिलाइ भई मंगलबार बेलुकामात्र सुरु हुने भएको छ।
विद्युतीय भोटिङ मेसिनमा आवश्यक प्राविधिक मिलान गर्नुपर्ने भएकाले मतदान समय सारिएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छन्।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्नेछ। २ हजार २ सय ६२ प्रतिनिधिले मतदान गर्नुपर्ने भएकाले सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न करिब ११ घन्टा लाग्ने अनुमान गरिएको छ।
निर्वाचनमा हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेक अन्य उम्मेदवारलाई मत दिनुपर्नेछ। हाल ११ जना उम्मेदवार निर्विरोध भइसकेका छन्। एक जना प्रतिनिधिले अध्यक्ष तथा पदाधिकारीसहित कम्तीमा २ सय ९२ जनालाई मतदान गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।




प्रतिक्रिया !