लोक आवाज ,
काठमाडौँ , २९ मंसिर । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका पूर्व कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाबाट राजीनामा दिँदै पार्टी राजनीतिमा पूर्णकालीन रूपमा सक्रिय हुने घोषणा गरेका छन्। उनले एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।
पोखरेलले दुई दिनअघि नेपाल सरकारको निजामती सेवाबाट राजीनामा दिएका थिए। राजीनामा दिनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत थिए। निजामती सेवामा लामो अनुभव बोकेका पोखरेल अवकाश पाउन अझै चार वर्ष र उपसचिव पदमा बढुवा हुन एक वर्ष बाँकी रहेको अवस्थामा सरकारी सेवाबाट बाहिरिएका हुन्। स्थायित्व र सुनिश्चित भविष्य भएको सेवाबाट राजीनामा दिने उनको निर्णयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
श्रमिक खुला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पोखरेलले पार्टी र श्रमिक आन्दोलनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्मचारी आन्दोलन, ट्रेड युनियन र संगठन निर्माणमा लामो समयदेखि सक्रिय उनी पार्टीभित्र श्रमिक तथा कर्मचारीको आवाजलाई केन्द्रसम्म पुर्याउने लक्ष्यसहित राजनीतिमा आएको बताउँछन्।
राजीनामापछि प्रतिक्रिया दिँदै पोखरेलले अब बाँकी जीवन पार्टी राजनीतिमा समर्पित गर्ने स्पष्ट पारेका छन्। उनले एमालेको नीति, सिद्धान्त र संगठनात्मक सुदृढीकरणका लागि पूर्णकालीन रूपमा काम गर्ने बताए। “कर्मचारी आन्दोलनबाट प्राप्त अनुभव र संगठन निर्माणको सीपलाई अब पार्टी राजनीतिमा उपयोग गर्नेछु,” उनले भने।
एमालेको ११औँ महाधिवेशनलाई संगठनात्मक पुनर्संरचना र नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यस्तो समयमा अनुभवी कर्मचारी नेताको उम्मेदवारीले श्रमिक तथा कर्मचारी पंक्तिमा नयाँ उत्साह थपिएको एमाले वृत्तको बुझाइ छ। पोखरेलको कदमले पार्टीभित्र श्रमिक वर्गको प्रतिनिधित्व र भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !