सुनिल साह ,
जनकपुरधाम, २९ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री निवास मधेश भवनमा बसेको सत्तारुढ सात दलको बैठकले सो मितिमा विश्वासको मत लिने सहमति गरेको हो ।
बैठकपछि जानकारी दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले सबै सत्तारुढ दलबीच पुस ४ गते विश्वासको मत लिने सहमति भएको बताए । उनका अनुसार राजनीतिक सहमति कायम रहेमा विश्वासको मत अघि नै सहभागी दलहरूबाट एक–एक जना मन्त्री नियुक्त गरिनेछ । सहमति हुन नसकेमा भने विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने उनले स्पष्ट पारे ।
नेता यादवले हाल नेकपा एमालेको महाधिवेशन चलिरहेको कारण सबै दलको सहभागिता सुनिश्चित गर्न पुस ४ गतेको मिति तय गरिएको जानकारी दिए । ‘राजनीतिक वातावरण अनुकूल बनाउन र सबै दलको उपस्थितिलाई सुनिश्चित गर्न सो मिति उपयुक्त ठानिएको हो,’ उनले भने ।
बैठकमा मधेश प्रदेश सभाको सभामुख चयनबारे पनि छलफल भएको थियो । सभामुख पद जसपाकै भागमा पर्ने दाबी गर्दै यादवले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यसका लागि आगामी पुस २ गते प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
हाल छ दलको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवको मन्त्रिपरिषद् आंशिक रूपमा मात्र गठन भएको छ । वर्तमान मन्त्रिपरिषद्मा जनमत पार्टीका संसदीय दलका नेता अर्थमन्त्रीको जिम्मेवारीमा छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पटेल र नेपाली कांग्रेसका जंगिलाल राय बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् ।
सत्तारुढ दलहरूले प्रदेश सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद् विस्तार अपरिहार्य रहेको बताएका छन् । विश्वासको मतपछि राजनीतिक स्थायित्व कायम हुने र मन्त्रालय बाँडफाँड तथा जिम्मेवारी वितरणबारे थप छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया !