पोखरामा हुने २७औँ सडक महोत्सवको निम्तो दिन पर्यटन व्यवसायी जनकपुरधाममा,

पोखरामा हुने २७औँ सडक महोत्सवको निम्तो दिन पर्यटन व्यवसायी जनकपुरधाममा,

सुनिल साह ,

जनकपुरधाम, २९ मंसिर । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने २७औं पोखरा सडक महोत्सवको औपचारिक निम्तो लिएर पोखराका पर्यटन व्यवसायीहरू जनकपुरधाम आइपुगेका छन्। रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको टोलीले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी आम नागरिक, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक वसन्त गौतमले विगत २६ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि भव्य रूपमा आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा रहेको पोखराको लेकसाइड क्षेत्रलाई महोत्सवस्थलका रूपमा विकास गरिनेछ। अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा पोखरालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रत्येक वर्ष यो महोत्सव आयोजना हुँदै आएको उनले बताए।

गौतमका अनुसार पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथि सत्कारलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। “पर्यटकहरूलाई मनोरञ्जनसँगै नेपाली कला, संस्कृति र खानाको स्वाद एकैसाथ अनुभव गराउने हाम्रो प्रयास हो,” उनले भने।

आयोजक समितिका अनुसार महोत्सवका प्रमुख आकर्षणमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार समेटिएको फुड फेस्टिभल, चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोकदोहोरी कार्यक्रम, फेवा तालमा आयोजना हुने बोट रेस, टग अफ वार प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिनेछ। साथै पर्यटन प्रवर्द्धनसम्बन्धी टक शो र फोटो प्रदर्शनीले महोत्सवलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ।

रेवान पोखराका प्रतिनिधिहरूले पोखरा सडक महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसाय प्रवर्द्धनको साझा थलोका रूपमा स्थापित हुँदै आएको बताए। महोत्सव अवधिभर होटल, रेष्टुरेन्ट, यातायात, हस्तकला तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा सकारात्मक प्रभाव पर्ने आयोजकहरूको विश्वास छ।

पत्रकार सम्मेलनमार्फत सञ्चारमाध्यमको भूमिकालाई विशेष महत्व दिँदै महोत्सवसम्बन्धी सूचना, उद्देश्य र कार्यक्रमहरू व्यापक रूपमा प्रसारण गरिदिन सहयोगको अपेक्षा गरिएको छ। सञ्चारकर्मीहरूसँगको सहकार्यले महोत्सवको सन्देश देशभर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन मद्दत पुग्ने आयोजकहरूको भनाइ छ।

आयोजक टोलीले अंग्रेजी नयाँ वर्षलाई विशेष र सम्झनलायक बनाउन पोखरा सडक महोत्सवमा सहभागी भई पोखराको कला, संस्कृति, स्वाद र उत्सवलाई नजिकबाट अनुभव गर्न सबैलाई आग्रह गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार