लोक आवाज,
काठमाडौं , २७ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले ऐतिहासिक सफलता हासिल गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक उपाधि चुमेको हो। लुम्बिनीले मात्र ९ ओभर (५४ बल) भित्रै लक्ष्य पूरा गर्दै एकपक्षीय जित निकालेको थियो।
यस जितसँगै गत सिजन अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको लुम्बिनीले दोस्रो संस्करणमा शानदार पुनरागमन गर्दै च्याम्पियन बन्न सफल भयो। उता सुदूरपश्चिम भने लगातार दोस्रो पटक फाइनलमा पराजित हुन पुग्यो। गत संस्करणमा उसले जनकपुर बोल्ट्ससँग अन्तिम क्षणमा उपाधि गुमाएको थियो।
भरिभराउ दर्शकबीच भएको फाइनल खेल भने एकतर्फी बन्यो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको कडा बलिङसामु टिक्न नसक्दै ८५ रनमै अलआउट भयो। सुदूरपश्चिमका ब्याटरहरू कुनै पनि समय खेलमा जम्न सकेनन्।
लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकसहित उत्कृष्ट बलिङ प्रदर्शन गरे। शेर मल्ल र रुवेन ट्रम्पलमेनले समान ३–३ विकेट लिए भने तिलक भण्डारीले १ विकेट हात पारे। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा हर्मित सिंह र स्कट कुगलिङ्गले १०–१० रन बनाए।
८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ६६ बल बाँकी रहँदै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। दिनेश अधिकारीले १३ बलमा ५ छक्का र १ चौकासहित ४२ रनको विस्फोटक इनिङ्स खेले। डार्सी सर्टले १४ रन बनाए भने कप्तान रोहित पौडेल १६ रनमा आउट भए। यद्यपि रोहित प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने।



प्रतिक्रिया !