सुनिल साह,
जनकपुरधाम , २७ मंसिर। मिथिला नाट्यकला परिषद्को ४६औँ साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाले गायक तथा संगीतकार सुनील मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। परिषद्को भावी कार्यदिशा तय गर्दै साधारणसभाले नाट्य, संगीत तथा मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवगठित कार्यसमितिमा अध्यक्षका रूपमा सुनील मल्लिक चयन भएका छन् भने उपाध्यक्षमा रामनारायण ठाकुर र संगीता देव चयन भएका छन्। महासचिवको जिम्मेवारी विष्णुकान्त मिश्रलाई दिइएको छ। सचिवमा धीरज ठाकुर र कोषाध्यक्षमा अनिता रानी मण्डल चयन भएका छन्।
यसैगरी सदस्यहरूमा गंगाकान्त झा, चन्द्रशेखर यादव, मुकेश झा, मुकेश ठाकुर, सन्नी राउत, ध्रुव झा र ईन्देश मिश्र रहेका छन्। नव निर्वाचित कार्यसमितिलाई साधारणसभाका सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
साधारणसभामा बोल्दै अध्यक्ष सुनील मल्लिकले मिथिला नाट्यकला परिषद् केवल एउटा संस्था मात्र नभई मिथिला संस्कृतिको पहिचान र आत्मा भएको उल्लेख गरे। उनले नाटक, संगीत र लोककलामार्फत नयाँ पुस्तालाई मिथिला संस्कृतिसँग जोड्ने योजना अघि बढाइने बताए। साथै स्थानीय कलाकारलाई प्रोत्साहन, नियमित नाट्य मञ्चन, प्रशिक्षण कार्यक्रम तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले परिषद्को ऐतिहासिक योगदानको चर्चा गर्दै आगामी दिनमा संस्थागत सुदृढीकरण, युवाको सहभागिता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मिथिला नाट्यकलाको पहिचान विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
साधारणसभाको समापनसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। परिषद्ले आगामी कार्यकालमा मिथिला नाट्यकला र संस्कृतिको संरक्षण तथा विकासमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया !