लोक आवाज ,
काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना गराएरै छाड्ने दृढ सङ्कल्प व्यक्त गरेका छन्।
भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको आन्दोलन देश जोगाउने अभियान भएको उल्लेख गरे। “यो मानिसहरूको भीड मात्र होइन, देश जोगाउने आन्दोलन र अभियान हो,” उनले भने, “यसलाई कसैले पनि हल्का रूपमा लिने वा अन्डरमाइन गर्ने काम नगरोस्।”
ओलीले भक्तपुरमा देखिएको एमालेको उपस्थिति एउटा सानो उदाहरण मात्र भएको उल्लेख गर्दै पार्टीलाई होच्याउने र जिस्क्याउने प्रयास नगर्न चेतावनी दिए।
देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने, संसद् पुनर्स्थापना गर्ने र संविधानलाई सही ट्र्याकमा ल्याउने एमालेको स्पष्ट सङ्कल्प रहेको उल्लेख गर्दै उनले उक्त लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै महाधिवेशनमा जनसागर उर्लिनु एमाले अजम्बरी पार्टी भएको प्रमाण भएको पनि उल्लेख गरे।
उद्घाटन समारोहमा देखिएको व्यापक उपस्थितिले आफूलाई गौरवान्वित बनाएको बताउँदै उनले भने, “धुवाँ, खरानी र निषेधका हरेक प्रहारलाई चिर्दै आज यहाँ जनसागर उर्लिएको छ। म ढुक्कका साथ भन्न सक्छु, लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्बरी छ।”
ओलीले संविधान, लोकतन्त्र तथा त्यसका प्रमुख स्तम्भका रूपमा रहेका राजनीतिक दलहरूमाथि हुने कुनै पनि प्रकारका आक्रमण स्वीकार्य नहुने स्पष्ट गर्दै लोकतान्त्रिक मूल्य र व्यवस्थाको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड पनि दिए।




प्रतिक्रिया !