लोक आवाज ,
काठमाडौँ, २७ मंसिर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले अझ शक्तिशाली र बलियो भएर अगाडि बढिरहेको बताएका छन्।
शनिबार सम्पन्न ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्व, संगठन र जनसमर्थनका हिसाबले एमाले कमजोर नभई झनै सुदृढ बनेको दाबी गरे। उनले “खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनेको छ” भन्दै पार्टीविरुद्ध संगठित र सुनियोजित रूपमा प्रहार भइरहेको उल्लेख गरे।
पोखरेलले गत भदौ २३ र २४ गते भएका घटनापछि एमाले सकियो भन्ने भ्रम फैलाउने प्रयास भएको बताए। तर महाधिवेशनमा देखिएको जनसहभागिता र प्रतिनिधिको उपस्थितिले एमाले अझै बलियो र संगठित रहेको स्पष्ट भएको उनको भनाइ छ।
एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको हृदयमा गहिरोसँग बसेको पार्टी भएको दाबी गर्दै उनले भदौ २३ र २४ को घटनालाई नवयुवाको भावनामाथि खेल्ने देशविरोधी तत्वहरूको गतिविधि दिएको संज्ञा दिए।
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला–ठूला आन्दोलनको नेतृत्व नेकपा एमालेले नै गरेको स्मरण गर्दै उनले पार्टी भविष्यमा पनि परिवर्तन र राष्ट्रहितको अग्रपंक्तिमा रहने विश्वास व्यक्त गरे।




प्रतिक्रिया !