सुनिल साह ,
जनकपुरधाम , २४ मंसिर । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानव अधिकारलाई राजनीतिक चक्रव्यूह र प्रभावबाट मुक्त राख्नुपर्ने आग्रह गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को कार्यक्रममा बोल्दै उनले हाल मानव अधिकारको मुद्दा अत्यन्त संवेदनशील र जटिल बन्दै गएको र यसमा राजनीतिक हस्तक्षेपको जोखिम बढ्दै गएको बताए।
उनका अनुसार मानव अधिकारमा राजनीतिक तत्व मिसिन थालेपछि वातावरण विषाक्त बन्ने र यसले यसको सार्वभौमिकता तथा विश्वव्यापी मान्यतालाई कमजोर बनाउने खतरा छ।
“मानव अधिकारलाई आ–आफ्नो भावना, आस्था वा निजी धारणा अनुसार व्याख्या गर्न थालियो भने यसको मूल उद्देश्य विचलित हुन्छ,” उनले भने।
राउतले मानव अधिकार न्याय (Justice) र स्वतन्त्रता (Liberty) सँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले अत्यन्त संवेदनशील भएर व्याख्या, संरक्षण र अभिव्यक्ति गर्नुपर्ने बताए।
कार्यक्रममा उनले गत भदौ २४ गते सर्वोच्च अदालत लगायत अदालतहरूमा भएको आगजनीबारे स्मरण गर्दै न्याय प्रणालीलाई कमजोर बनाउने र धम्की दिने प्रयास असफल भएको बताए।
उनका अनुसार आगजनीमा झण्डै ३६ हजार मुद्दा सम्बन्धी मिसिल र करिब ९ लाख अभिलेख नष्ट भए पनि न्यायप्रति विश्वास, संकल्प र प्रतिबद्धता भने जलेको छैन।
“हामी स्तब्ध भयौँ, दुःखी भयौँ, आहत भयौँ, तर विचलित भएनौँ,” राउतले भने।
प्रधानन्यायाधीश राउतले अदालत पुनःस्थापनाका काम अघि बढिरहेको र त्यसमा सकारात्मक प्रगति भइरहेको जानकारी दिँदै कार्यक्रम सम्पन्न गरे।




प्रतिक्रिया !