लोक आवाज ,
काठमाडौँ , २४ मंसिर – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले अब ऊर्जा तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री घिसिङको प्रस्तावमा सरकारले हटाएपछि सर्वोच्च अदालतको आदेशबाट पदमा पुनः फर्किएका शाक्यले बुधबार औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
शाक्यले आफू र मन्त्री घिसिङ दुवै नेपाल विद्युत प्राधिकरणबाटै अनुभव लिएर माथि उठेका व्यक्तित्व भएकाले अनुभव र क्षमताको सदुपयोग गर्दै संस्थालाई थप सुदृढ बनाउन आफू तयार रहेको बताए।
“नेपाल सरकारको नीति निर्देशनअनुसार प्राधिकरणको हितलाई प्राथमिकता दिएर काम गर्नेछु। पहिला कमजोरी परेका रहेछन् भने अब दोहोरिन दिन्न,” शाक्यले भने। उनले आगामी साढे तीन वर्षभित्र निश्चित लक्ष्य प्राप्त गर्ने गरी कार्ययोजना अघि बढाउने बताए।
उनका अनुसार आफू र घिसिङ दुवै प्राधिकरण (NEA) का क्याडर भएकाले ऊर्जा क्षेत्रको चुनौती र समाधान पहिल्यै बुझिसकेको र अब मिलेर काम गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्री घिसिङको बर्खास्त प्रस्तावलाई पूर्वाग्रही र प्रतिशोधप्रेरित भन्दै शाक्यलाई पुनः पदमा बहाल गर्न आदेश दिएको थियो।
भदौमा गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेको थियो। घिसिङ स्वयं प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई हटाएर शाक्यलाई एमडी नियुक्त गरेको थियो।
शाक्यले अब आफू अझै धेरै जोश, उत्साह र कार्यक्षमतासहित योजनाहरू अघि बढाउने बताएका छन्।



प्रतिक्रिया !