देशव्यापी आन्दोलन: जसपा नेपालले शान्तिपूर्ण विरोध प्रदर्शन गर्यो

देशव्यापी आन्दोलन: जसपा नेपालले शान्तिपूर्ण विरोध प्रदर्शन गर्यो

लोक आवाज,
जनकपुरधाम मंसिर २१ । जनता समाजवादी पार्टी जसपा नेपालले आफ्ना २८ बुँदे माग सम्बोधन गर्न देशभरका ७७ जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना र विरोध प्रदर्शन गरेको छ।

पार्टीले आफ्नो पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार लगातार तीन दिनदेखि प्रशासन कार्यालयहरू अगाडि प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गर्दै आएको छ। यसअघि नै जसपा नेपालले आफ्ना २८ बुँदे माग सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेको थियो। पार्टीका प्रमुख मागहरूमा संविधान संशोधन र पुनर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान, राज्य पुनर्संरचना, जनसंख्याका आधारमा प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने जस्ता विषयहरू छन्।

साथै, आन्दोलनका क्रममा उठेका न्यायोचित मुद्दाहरूलाई सम्बोधन गर्न, जेनजी विद्रोह र त्यसपछिको दमनका कारण भएका हिंसा, हत्या, आगजनी र विध्वंसको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि पार्टीले माग गरेको छ। जनसरोकारका क्षेत्रमा जसपा नेपालले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य, किसानलाई सहुलियत दरमा कृषि ऋण, सिँचाइ, मल–बिउ–औषधि र कृषि बजारको व्यवस्थित व्यवस्था आवश्यक भएको जोड दिएको छ। जसपा नेपालले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण राख्दै माग सम्बोधनका लागि सरकारमाथि निरन्तर दबाब दिने प्रतिबद्धता जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार