“ओलीको आरोप— भदौ २३–२४ का घटना देशलाई उल्टो दिशामा लैजाने प्रयास”

“ओलीको आरोप— भदौ २३–२४ का घटना देशलाई उल्टो दिशामा लैजाने प्रयास”

लोक आवाज,
काठमाडौँ मंसिर २० । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनाले देशलाई प्रतिक्रान्तितर्फ धकेलेको आरोप लगाउँदै वर्तमान राजनीतिक अवस्थाप्रति कडा आपत्ति जनाएका छन्। शनिबार पार्टीको ११औँ महाधिवेशनको तयारीअन्तर्गत ‘नवयुग ई–बुलेटिन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले हालको सत्ता व्यवस्थालाई “असंवैधानिक र प्रतिगामी” भने।

ओलीका अनुसार विधि प्रक्रिया बिना नै आफूलाई सरकार घोषणा गरिएको वर्तमान संरचना लोकतन्त्रमाथिको उपहास हो। प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णय समेत असंवैधानिक भन्दै उहाँले त्यसको पुनर्स्थापना आवश्यक भएको तर्क प्रस्तुत गरे। आगजनी, तोडफोड र लुटपाटलाई ‘क्रान्ति’ को नाममा महिमामण्डन गर्नु बुद्धिहीनता भएको बताउँदै उहाँले पछिल्ला गतिविधिलाई प्रतिक्रान्तिको स्वरूपमा चित्रण गरे। सरकारप्रति कडा आक्रोश व्यक्त गर्दै ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वलाई “अनाडी” भन्दै चुनौती पनि दिए। विवादास्पद घटनाको छानबिनका लागि बनेको आयोग “पूर्वनियत राजनीतिक तयारी” भएको आरोप लगाउँदै उहाँले त्यसले जनतालाई झुक्याउने भूमिका मात्रै खेल्ने दाबी गरे।

ओलीले राजनीतिक दलहरूको अस्तित्व समाप्त हुने सोच गलत भएको र फेरि पनि दलहरूकै माध्यमबाट सरकार बन्ने बताए। चुनाव गराउने दाबी गर्ने सरकारले अपराधी र हतियार व्यवस्थापन गर्न नसकेको आरोप उनले लगाए। यस्तो अवस्थामा चुनाव सम्भव नहुने जिकिर गर्दै “पुराना दल फर्कन्छन् भन्ने डरले” सरकार ढिलो–ढिलो चुनावबाट पछि हटिरहेको व्याख्या गरे।एमालेलाई देश, लोकतन्त्र, संविधान, सुशासन र विकासको पक्षधर शक्ति दाबी गर्दै ओलीले पार्टीलाई अझ आधुनिक र सक्षम रूपमा अपडेट गर्नुपर्ने आवश्यकता औँल्याए। नेपाल जातीय विभाजनतर्फ धकेलिने प्रयासलाई अघिल्लो संविधान निर्माण प्रक्रियामा एमालेले रोकिएको उल्लेख गर्दै उनले आतङ्कवाद र हिंसाको विरुद्ध पार्टी निरन्तर सफल हुँदै आएको बताए।

अर्थतन्त्र सुधार र नेपाललाई विश्व मञ्चमा प्रभावकारी रुपमा स्थापित गर्न पनि एमालेलाई योगदानकर्ता शक्ति दाबी गर्दै ओलीले देश वर्तमानमा विभाजनकारी अवस्थाबाट गुज्रिरहेको र यस्तो बेलामा सत्य जानकारी जनतासम्म पुर्‍याउन पार्टीको जिम्मेवारी झनै बढेको टिप्पणी गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार