सुनिल साह,
जनकपुरधाम, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले ऐतिहासिक उपलब्धि हात पारेको छ। शुक्रबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी पहिलोपटक प्लेअफमा प्रवेश गरेको हो।
लुम्बिनीको जितसँगै प्लेअफका चारै टोली सुनिश्चित भएका छन्। जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज प्रतियोगिताबाट बाहिरिएका छन् भने कर्णाली याक्स पहिले नै बाहिर भइसकेको थियो। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफ स्थान सुरक्षित गरिसकेका थिए।
जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। टोलीका कप्तान रोहित पौडेलले ३४ रन बनाउँदै उत्कृष्ट निर्णायक भूमिका खेले। त्यसअघि डार्सी सर्टले ३०, जेजे स्मिथले २१ र निरोशन डिक्वेलाले १७ रन जोडे।
लुम्बिनीले पहिलो बलमै सुमित महर्जनलाई गुमाए पनि दोस्रो विकेटको लागि सर्ट र पौडेलले ६१ रनको साझेदारी गर्दै खेल पल्टाए। जनकपुरका मयन यादवले १२औं ओभरमा लगातार दुई विकेट लिएपछि खेल केही रोमाञ्चक बनेको थियो, तर अन्त्यतिर डिक्वेला, स्मिथ र दिलीप नाथले इनिङ्स सम्हाले।
जनकपुरका संगीथ कुरेले ३, मयन यादवले २ र सञ्जय कृष्णमूर्ति १ विकेट लिन सफल भए।
यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जनकपुरका संगीथ कुरेले ३८ बलमा ४५ रन बनाए भने मयन यादव २७ रनमा अविजित रहे। असिफ शेखले २० रन, सञ्जय कृष्णमुर्तीले १४ र शुभ कंसाकारले ११ रन जोडे।
लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २–२ विकेट लिँदा जेजे स्मिथ र रुबेन ट्रम्पल्म्यानले १–१ विकेट लिए।
अब प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्ने छन्। सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ भने लुम्बिनीले एलिमिनेटर खेल्नेछ।




प्रतिक्रिया !