लोक आवाज,
एजेन्सी मंसिर १९ । श्रीलङ्कामा आएको चक्रवात र त्यसले निम्त्याएको मौसमी विपद्को कारण मृत्यु हुनेको संख्या ४८९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र डिएमसी ले जनाएको छ। केन्द्रका अनुसार अझै ३५० जना बेपत्ता छन् भने १६ लाखभन्दा बढी मानिस प्रभावित बनेका छन्। प्रभावित परिवारको संख्या मात्र चार लाख ५५ हजार ४०५ पुगेको बताइएको छ।
डिएमसीका अनुसार विपद्का कारण १,२९९ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४४,५०० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ। कृषि सेवा विभागका संरचनाहरूमा ठूलो क्षति पुगेको छ—जसअनुसार १,७७७ ट्याङ्की, ४८३ बाँध, १,९३६ नदी संरचना र ३२८ सडक क्षतिग्रस्त भएका छन्।
यसैबीच, चीनले श्रीलङ्कामा आएको विनाशकारी बाढीप्रति दुस्ख व्यक्त गर्दै आपत्कालीन मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलङ्काको अनुरोधमा चीनले नगद सहायता, लाइफ ज्याकेट, टेन्ट लगायतका सामाग्री पठाउने निर्णय गरेको छ। उता, एसियाली विकास बैंक एडीबी ले पनि श्रीलङ्कामा आपत्कालीन अवस्थाका लागि ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ।



प्रतिक्रिया !