लोक आवाज,
काठमाडौँ मंसिर १८ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको बताइएको छ। डेढ महिनादेखि चलिरहेको आन्तरिक बहसपछि कांग्रेसले पुस २६–२८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
पहिले महाधिवेशन सारेर चुनाव अघि गर्ने पक्षमा रहेका निधि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि पुसमै महाधिवेशन गर्ने सहमतिमा पुगेका छन्। निधिको समूह हाल करिब ९० जनासम्म पुगेको जनाइएको छ। सभापति पदमा नै उम्मेदवारी दिने–नदिने विषय चाँडै टुंगो लाग्ने निधिको भनाइ छ। उनका अनुसार पार्टीभित्रका केही नेताले देउवालाई सक्रिय गराउँदै पुसमै महाधिवेशन गर्न दबाब दिएको आरोप छ। एकातिर देउवाजीलाई हटाउनुपर्ने भन्छन्, अर्कोतिर उहाँकै आशीर्वाद खोज्छन्, भनेर उनले कटाक्षसमेत गरे।
निधिको समूहमा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरू जोडिँदै गएको बताइएको छ। विशेष महाधिवेशनबारे निधिको धारणा स्पष्ट छ—कांग्रेस केन्द्रीय समितिले नियमित महाधिवेशनको तालिका सर्वसम्मतिले पास गरिसकेको र विशेष महाधिवेशनको औचित्य सकिएको।




प्रतिक्रिया !