लोक आवाज,
काठमाडौँ मंसिर १७ । आज देशभर अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस अवसरमा सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था द्वारा कार्यक्रम आयोजना गरिएको छ।
विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समानताका लागि संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यस वर्षको दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनस् सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ। यस दिन अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्ने साझा संकल्प पुनः स्मरण गराइन्छ। साथै, कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, मठमन्दिर र सरकारी–निजी संरचनाहरूमा अपाङ्ग व्यक्तिहरूका लागि मैत्रीपूर्ण भौतिक संरचना र आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता जोड दिइन्छ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधता सहित मर्यादापूर्ण जीवनयापन, सार्वजनिक सेवा र सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ। तर व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको भन्दै यस दिवसमा त्यसको पूर्ण कार्यान्वयनको मागसमेत उठाइएको छ।




प्रतिक्रिया !