सुनिल साह ,
जनकपुरधाम , १६ मंसिर – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनले भोलि दिउँसो २ बजे मत ग्रहण प्रक्रिया सञ्चालन गर्ने गरी प्रदेशसभा सचिवालयमा पत्र पठाएको बताएका छन्।
मुख्यमन्त्री यादवका अनुसार सर्वोच्च अदालतबाट आधिकारिक इमेल वा पत्र भने अहिलेसम्म प्राप्त भएको छैन। उनले भने, “मेल नआएपछि प्रदेशसभामा फोन गरेको थिएँ। त्यहाँ आएको रहेछ तर पठाउन नमिल्ने जवाफ पाएँ। पछि प्रदेश प्रमुख कार्यालयका निमित्त सचिवसँग फोनमा कुरा गरेपछि ३ बजेतिर आदेशको फोटोकपी पठाइएको छ।”
यादवले आफूले विश्वासको मत पाउने ठोस सम्भावना रहेको दाबी गरेका छन्। होटलमा विवादित रूपमा नियुक्ति र शपथ लिएका उनलाई प्रदेशसभाका ७३ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै चुनौती दिएका थिए।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। यदि यादवले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश गरिएको छ।
सर्वोच्चको आदेश औपचारिक रुपमा नबुझे पनि मुख्यमन्त्री यादवले बुधबार नै विश्वासको मतको प्रक्रिया सुरु गर्न प्रदेशसभासँग आग्रह गरेका छन्।




प्रतिक्रिया !