लोक आवाज,
जनकपुरधाम मंसिर १६ । मधेस प्रदेशका विभिन्न जिल्लामा एक वर्षभित्र ४७४ नयाँ एचआईभी संक्रमित पहिचान भएका छन्। विश्व एड्स दिवसको अवसरमा जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको हो।
स्वास्थ्य निर्देशनालयका एचआईभी सम्पर्क व्यक्ति राजवीर यादवका अनुसार नयाँ संक्रमितमध्ये १६ जना गर्भवती महिलाहरू रहेका छन्। उनले नयाँ केसहरूमा वैदेशिक रोजगारीबाट फर्किएका पुरुषको संख्या उच्च रहेको बताए। त्यस्तै महिलाहरू, तेस्रोलिंगी तथा यौनकर्मीहरू पनि नयाँ संक्रमितमध्ये परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दातृ निकायको सहयोगमा नेपाल सरकार उपलब्ध गराउने एचआईभी–एड्सविरुद्धका औषधि मधेस प्रदेशका ११ वटा एआरटी केन्द्रमार्फत स्वास्थ्यकर्मीको निगरानीमा नियमित रूपमा वितरण हुँदै आएको छ।
जिल्ला–जिल्लामा रहेका संक्रमितको संख्या यसप्रकार छ;
सप्तरीमा १८१, बारामा २८८, महोत्तरीमा ३६४, रौतहटमा ३९०, सिरहामा ४२६, सर्लाहीमा ५२०, धनुषामा ८२२ र सबैभन्दा बढी पर्सामा १,८९६ संक्रमित रहेका छन्। यससँगै मधेस प्रदेशमा कुल संक्रमितको संख्या ४,३३२ पुगेको निर्देशनालयले जनाएको छ।
प्रदेशगत तथ्याङ्क हेर्दा देशभर सबैभन्दा धेरै एचआईभी संक्रमित बागमती प्रदेशमा ७,१०४ जना रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ७३१ जना मात्र रहेका छन्। यसैबीच, एचआईभी–एड्सबारे जनचेतना अभिवृद्धि गर्न धनुषामा आयोजित जिल्ला स्तरीय सामुदायिक विद्यालय हाजिरी–जवाफ प्रतियोगिताका विजयी विद्यार्थी तथा विद्यालयलाई शिल्ड, पदक र प्रमाणपत्र सहित सम्मान गरिएको छ।




प्रतिक्रिया !